नयाँ सांगठनिक संरचना

परमपूज्य सद्‌गुरुदेवहरुको असीम कृपास्वरुप सिद्धाश्रम शक्ति केन्द्रको सांगठनिक संरचना अब नयाँ ढंगबाट गठित हुने क्रमको शुरुआत भएको छ । यसअन्तर्गत संस्थाको सबभन्दा निम्नतम औपचारिक इकाइको रुपमा हाल स्थापित सम्पर्क कार्यालयहरुको लागि सात सदस्यीय समूह गठनको प्रक्रिया शुभारम्भ भएको छ । यो समूहका सदस्यहरुलाई क्रमशः हाजिना, सहहाजिना, काजिना, सहकाजिना, मासान, सहमासान र जाइनी भन्ने नाम प्राप्त छ । यसको साथै तीनवटा सर्म्पर्क कार्यालयहरु यदि एउटै जिल्लाको निश्चित क्षेत्रमा रहेको खण्डमा दोस्रो इकाइको गठन हुने प्रावधान रहेको छ जसमा पनि सात सदस्यीय समूह गठन हुनेछ । यो समूहका सदस्यहरुलाई क्रमशः प्रजात, सहप्रजात, बोस्रा, सहबोस्रा, संकाली, काम्राज र काम्राज भनिनेछ । संस्थामा अज्ञात नाथ पन्थीको कार्यशैली भित्रिएपछिको प्रमुख सांगठनिक फेरबदलको रुपमा यसलाई लिइएको छ । हालसम्म पहिलो इकाइ गठन भएका स्थानहरुमा रामघाट पोखरा, बसुन्धरा काठमाडौँ, सिन्धुली, लेखनाथ कास्की, सौरपानी गोरखा, बनेपा काभ्रे, ललितपुर, बानेश्वर र विन्ध्यवासिनी पोखरा रहेका छन् भने कास्की जिल्लामा दोस्रो इकाइ गठन भइसकेको छ । आगामी दिनहरुमा यस संरचनाबाट संस्थाले अझ विस्तारित एवं सुव्यवस्थित रुप लिने आशा गर्न सकिन्छ ।